उलार
फाट्टफुट्ट एकदुइटा स्ट्याटस बाहेक अरु केही नलेखेको एक युग भैसकेछ। हुनत खासै लेखीराख्ने मान्छे होइन म। तर आज, नयनराज पाण्डे द्वारा लिखित बहुचर्चित उपन्यास उलारले लेख्नैपर्ने अवस्थामा पुर्याइदियो।
सन् 2007 तिरको कुरा हो। कलेजका साथीहरुसंग नाटक हेर्न गुरुकुल पुगेको थिएं। मैले कुनै नाटकघरमा प्रवेश गरेको यो पहिलो पटक थियो। तर दुर्भाग्यवश प्राविधिक गडबडीका कारण त्यस दिन नाटक मञ्चन हुन सकेन। कलाकारहरूले निकै दुःख प्रकट गर्नुभयो र दर्शकहरु समक्ष क्षमायाचना गर्नुभयो। अर्को पटक आउने बाचा सहित हामी त्यहाँबाट निस्कियौँ। तर यत्तिका वर्ष बितीसक्दा पनि नाटक हेर्न जाने अवसर कहिले जुरेन। अथवा भनौँ, व्यस्तताका कारण यस तर्फ खासै ध्यान दिइएन। तर मनमा सँधै एउटा खालीपन भने थियो नै। मञ्च अगाडी बसेर नाटक हेर्नुको अनुभव कस्तो हुन्छ थाहै थिएन।
१५ वर्ष पश्चात, अहिले आएर, कौसि नाटकघरमा मञ्चन भैरहेको उलार हेर्न जाने निश्चय गरें। साथी पुस्पालाई हेर्न जाने? भनेर सोधें। पुस्पा कला प्रेमी हो। नाईं भन्ने कुरै थिएन। त्यसमाथी मैले उलारका बारेमा सँधै गरीरहने बखान, बेलाबेला उसलाई सुनाईरहने नेपालगञ्जिया लबज आदि इत्यादिले नतानोस पनि त कसरी। जे होस, हमी कौसी नाटकघर जाने भयौँ। पानी परिरहेको थियो। म जाँदा जाँदै निथ्रुक्क भिजीसकेको थिएँ।पुस्पा पहिले नै पुगीसकेकी थिइन। मैले ज्याकेटको खल्तीबाट झिकेर एक बिडा मिठा पान पुस्पालाई दिएं। तराईको नाटक, दर्शकको मुखमा पान त हुनै पर्यो नि। तर पान बनाउने दिदीले डुबाई दिनुभएछ। अत्याधिक मात्रामा चूना लगाई दिनुभएछ। दुबै जनाको मुख पाच्छिएर बर्बादै भएछ। कस्तो नमिठो पान भन्दै हामी नाटकघर भित्र पस्यौँ। अनि शुरु भयो उलारको मञ्चन।
नाटकको पहिलो दृश्यमै देखियो पान पसल अनि त्यसको वरीपरी नाराबाजी गरीरहेका कलाकारहरु। म त्यस हुलमा खोइ प्रेमललवा कुन हो? दरौपदी कुन हो? ननकऊ कुन हो भनि चिन्न खोज्दै थिएँ। कलाकारहरु टुटेफुटेको नेपालगञ्जिया लबज बोल्न सङघर्ष गर्दै थिए। पुस्पाले खुसुक्क कानमा सोधिन, "कुन भाषा हो यो?" मैले कुनै जवाफ नै दिन सकेन। शुरुमा मलाई आफैँ भाषा बुझ्न गाह्रो भयो। कसैले बिहारी बोल्दै थिए, कसैले कुन्नी कता तिरको भाषा बोल्दै थिए। उपन्यासमा कतिपय ठाउँमा अश्लील शब्द र गाली गलौज को प्रयोग छ। नाटकमा कता कता यसको अनावश्यक रूपमा अत्यधिक प्रयोग भएको जस्तो लाग्यो। नेपालगञ्जिया भाषाको मौलिकता गाली गलौजको सङ्गालो मात्र होइन। वास्तवमा मलाई उपन्यास उलार मन पर्नुको पहिलो कारण नै यसको भाषा हो। मैले नेपालगञ्जिया भाषा नयनराज पाण्डेका किताबहरु बाहेक अरु कुनै किताबमा पढेको छैन। यो नाटक भन्दा पहिले उलारको रेडियो वाचन सुनेको थिएँ। त्यसमा पनि यही समस्या थियो। भाषा नै नमिलेको। भाषा नमिलेपछि एत्तिकै मेरो मन खिन्न हुन्छ। तर कौसिले गरेको उलारको मञ्चनमा भाषा बाहेक अरु धेरै कुराहरु थिए जसले मलाई उलारको गहिराईमा पुगाई छोड्यो।
अवश्यपनि १.५ घण्टाको नाटकमा उपन्यासका सबै कुरा समावेश गर्न सकिँदैन। तर निर्देशकले उपन्यासको सारांशलाई निकै कलात्मक ढङ्गले प्रतीकीकरण गरेका छन। उलारका पात्रहरुको संवाद जसरी उपन्यासमा मन भित्रै पर्नेगरी लेखिएको छ, नाटकले त्यसलाई छुटाएको छैन। उपन्यासको मूल कथाबाट निर्देशक रत्तिभरपनि भट्किएका छैनन। दरौपदीको भूमिका निष्ठापूर्ण छ। ननकऊले बोलेको नेपालगञ्जिया लबज अरु सबै कलाकारको भन्दा उत्कृष्ट छ। दरौपदीले आफ्नो कानको सुन प्रेमललवालाई दिएको दृष्य हेर्दा मेरो रौं नै ठाडो भएको थियो। मुखबाट उच्छ्वास निस्केको थियो। पुस्पाले खुसुक्क सोधेकी थियिन, तिमी इमोश्नल भाको त हैन नि? प्रेमललवा काठमाडौं पुगेर चिया पसलको दाईलाई पुलचोक कता छ भन्ने प्रश्न सोध्दाको जवाफ सुन्दा जसरी उपन्यास पढ्दा हाँसेको थिएँ त्यसरी नै हाँस्न मन लागेको थियो।"नाईँ त के तेल लगाएर लिन्छस?" सुन्दा कता कता नेपालगञ्ज नै पुगेको जस्तो लागेको थियो। बसन्तीको मृत्यूको दृश्यले मनै विचलित पारीदिएको थियो। राजिन्दर बाबू, शान्तीराजाको पात्रले सिधै नेपालगञ्जका कुशासकहरुको झल्को ल्याइदिएको थियो।
नाटक हेर्न करीब १५-२० जना दर्शक आएका थिए। म मनमनै सोँच्दै थिएँ, जेहोस मान्छेहरु आउने रहेछन तर थोरै आउने रहेछन। पाण्डेले उलार करीब २५ वर्ष पहिले लेख्नुभएको थियो। तर यत्तिका वर्षपछि पनि मञ्चमा यो नाटक हेर्दा देशको परिवेष खासै बदलिएको छ जस्तो लाग्दैन। राजनीतिका नाममा उही फोहोरी खेल। गरीबहरुको अवस्था देशमा अहिले पनि उस्तै छ।सीमान्त तहका जनता कसरी पछाडी पछाडी धकेलिंदै जान्छन भन्ने कुरालाई जसरी उपन्यासले दर्षाएको छ, त्यसरी नै निर्देशकले यसलाई मञ्चमा उतारी दिएका छन। प्रेमललवाको त्यो कहिले नसक्किने दौडले हाम्रो समाजको कटु यथार्थलाई पीडा हुनेगरी झल्काइदिएको छ। नाटकमा प्रयोग गरिएका संगीत पनि उत्तिकै प्रतीकात्मक छन। "हर रात सपनीमा ऐंठन हुन्छ" कलाकारहरुले एकैसाथ गाउँदा मन भावुक हुन्छ। अन्त्यमा सबै कलाकारले फ़ैज़ अहमद फ़ैज़को "हम देखेंगे" गीत गाउँदा सङ्गसङ्गै मैले पनि गाईदिउँ की जस्तो भएको थियो।
समग्रमा भन्दा, उलारको नाटक मञ्चन हेर्न गएर राम्रो काम गरिएछ जस्तो लाग्यो। सबै कलाकारहरु र निर्देशकले उलारलाई न्यायोचित ढङ्गले मञ्चमा प्रस्तुत गरेका छन। कौसी नाटकघर र कथा घेराका सम्पूर्ण सदस्यलाई हार्दिक नमन र धन्यवाद। भविष्यमा नाटक हेर्न फेरी पनि अवश्य जानेछु।












