एनआरएनए, दोहोरो नागरिकता र नक्कली शरणार्थीको प्रश्न
एनआरएनएको नागरिकताको विषयमा कुरा गर्दा, देशको परिस्थितिले विदेशिन बाध्य भएका, विदेशमै जीवन बिताएर संघर्ष गरेका तथा विभिन्न कारणवश विदेशी नागरिकता लिन बाध्य भएका नेपालीहरूको अवस्था सबैलाई थाहा छ। रोजगारी, शिक्षा, व्यवसाय वा पारिवारिक कारणले विदेशी नागरिकता लिनुपरेको अवस्था र नक्कली शरणार्थी बनेर विदेशी नागरिकता प्राप्त गर्ने अवस्था एउटै होइनन्।
विशेषगरी, केही व्यक्तिहरूले नेपालको अवस्थालाई झुटो रूपमा नकारात्मक चित्रण गर्दै, देशलाई नै दोष लगाएर, आफूलाई राजनीतिक वा सामाजिक रूपमा पीडित देखाई शरणार्थीको हैसियत प्राप्त गरेका उदाहरणहरू छन्। यदि कुनै व्यक्तिले आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नै देशलाई असफल, अन्यायी वा असुरक्षित भनेर झुटो दाबी प्रस्तुत गर्यो भने, पछि सुविधा प्राप्त गर्ने उद्देश्यले पुनः त्यही देशसँगको सम्बन्ध जोड्न खोज्नु कत्तिको उचित हो?
उनीहरूले विदेशी मुलुकमा बसोबासको अधिकार र नागरिकता प्राप्त गर्न नेपालविरुद्ध विभिन्न आरोप लगाएका थिए र आज पनि त्यस्तै आधारमा आवेदन दिनेहरू कम छैनन्। जसले हिजो देशलाई “बस्न अयोग्य” भन्दै झुटा आरोप लगाए, आज फेरि तिनै व्यक्तिहरूले सुविधाका लागि नेपाली नागरिकताको माग गर्नु न्यायोचित देखिँदैन।
बाध्यता आफ्नै ठाउँमा छ, तर बाध्यताको नाममा इज्जत नै फाल्नु उचित हुँदैन। बाध्यताको नाममा मातृभूमिलाई नै अपमानित गर्न मिल्दैन। बाध्यताको नाममा आफूलाई जन्माएकी आमालाई ‘बेश्या’ भन्न त पाइँदैन। आफ्नो घरमा अभाव हुँदा घरको बदनाम गर्दै हिँड्ने र पछि कमाइ भएपछि फेरि “यो मेरै घर हो” भन्दै फर्किन खोज्ने प्रवृत्तिलाई लिएर उठाइने प्रश्न यही हो।
जब एनआरएनए नागरिकता वा नेपाली पहिचानसँग सम्बन्धित सुविधा प्राप्त गर्ने अवसर आउँछ, त्यही व्यक्तिहरू फेरि नेपाली पहिचान खोज्न थाल्छन्। नक्कली रिफ्युजीहरू आफ्नो देशको बदनाम गरेर, नक्कली कागजात बनाएर रिफ्युजी कार्ड त लिन्छन्, तर उनीहरू न आफ्नो जन्मभूमिप्रति वफादार हुन्छन्, न कर्मभूमिप्रति नै। आफ्नै देश र समाजलाई धोका दिनेले, शरण दिने अर्को देशसमक्ष पनि नक्कली कागजात पेश गर्नेहरूले भविष्यमा इमानदारिता निभाउलान् भनेर कसरी विश्वास गर्ने?
आफ्नो मातृभूमि र नेपाली समाजलाई झुट्टा लाञ्छना लगाएर, देशको बदनाम गरेर विदेशी भूमिमा ‘नक्कली शरणार्थी’ बन्नेहरूले के भविष्यमा आफूलाई गर्वका साथ “म नेपाली हुँ” भन्ने नैतिक अधिकार राख्छन्?
नेपाल केवल सुविधा लिने माध्यम होइन; यो हाम्रो राष्ट्रिय पहिचान, इतिहास, संस्कृति र भावनासँग जोडिएको देश हो।
त्यसैले एनआरएनए नागरिकता र दोहोरो पहिचानको बहसमा वास्तविक परिस्थितिका कारण विदेशिएका नेपालीहरू, वास्तविक शरणार्थीहरू र झुटो शरणार्थी दाबी गरेर लाभ लिएका व्यक्तिहरूबीच राज्यले छानबिन गरी स्पष्ट रूपमा फरक छुट्याउन सक्नुपर्छ। यस विषयमा नीति निर्माण गर्दा नैतिकता, राष्ट्रिय हित र तथ्यमा आधारित दृष्टिकोण आवश्यक छ।
"एक पटकको नेपाली सधैंका लागि नेपाली"। देशले आफ्ना नागरिकलाई सधैं नेपाली नै भन्नु पर्ने । तर केही व्यक्तिहरूले स्वार्थका लागि “म नेपाली होइन” भन्दै विदेशी राज्यबाट लाभ लिने, अनि फेरि सुविधा र अवसर देखेपछि “म नेपाली हुँ” भन्दै फर्कने प्रवृत्ति कदापि स्वीकार्य हुन सक्दैन।
अहिलेको सरकारले कूटनीतिक पहल गर्नुपर्छ। नेपाल असुरक्षित छ भनेर नेपालीहरूलाई शरण दिने नीतिप्रति सम्बन्धित देशहरूसँग आपत्ति जनाउनुपर्छ। नेपाली नागरिकसम्बन्धी शरणार्थी नीतिमा कडाइ गर्न अनुरोध गर्नुपर्छ। साथै, झुटा कागजात पेश गरेर शरणार्थी बनेका व्यक्तिहरूलाई एनआरएनएको हैसियत प्रदान गर्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक छ।
राष्ट्रिय हित, सत्य र जिम्मेवारीको प्रश्नमा भावनाभन्दा पनि तथ्य, नैतिकता र कानुनी आधारलाई प्राथमिकता दिनु आजको आवश्यकता हो।